पुराना वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो ।
उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।
उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए । तर, पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् ।
नेपालले ‘सञ्जय थापाुको नामबाट प्रगतिशील साहित्यमा कलम चलाउने गर्थे । उनका ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरु’ लगायतका कृति प्रकाशित छन् ।
प्रतिकृया दिनुहोस