सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका थिए ।
चौधरी सर्वाेच्चकै आदेशपछि पक्राउ परेपछि सर्वाेच्चले नै पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।
सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ ।
पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।
जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको छ ।
दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो । यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए । चौधरी पक्राउ परेपछि नेता तथा कार्यकर्ताले प्रज्ञा परिसरमा केहीबेर नाराबाजी गरेका थिए ।
सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए । सर्वोच्चको आदेश कार्यान्वयन गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले बताए । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।
२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
प्रतिकृया दिनुहोस