१०५ दिनमा आमहड्ताल फिर्ता भएपछि सामान्य बन्दै दार्जिलिङ

Gorkhaland aaandolan

काठमाडौं । दार्जिलिङ आसपासमा १०५ दिनदेखि जारी आमहड्ताल फिर्ता भएको छ । योसँगै लामो समयपछि दार्जिलिङ सामान्य बन्न थालेको छ ।

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङ सहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल फिर्ता भएको छ ।

गृहमन्त्री सिंहले दशैंपछि त्रिपक्षीय वार्ताको वातावरण बनाउने आश्वासन दिएपछि अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बताए । आमहड्ताल फिर्ता भएसँगै बुधबार विहानैदेखि दार्जिलिङ, मिरिक, खरसाङ र कालेबुङको जनजिवन सामान्य बनेको छ । विहानैदेखि पसल र सवारी साधन सञ्चालनमा आएका छन् ।

बन्द खुल्नुअघि गोर्खाल्याण्ड आन्दोलन दबाउने हतियारको रुपमा प्रयोग गरेको इन्टरनेट सेवा पनि सुचारु भएको छ । ३ महिनापछि स्थानीय प्रशासनको आदेशमा मंगलबार नै इन्टरनेट सेवा खुल्ला भएको थियो ।

गोर्खाल्याण्डको आन्दोलनका क्रममा क्रममा ११ जनाले ज्यान गुमाएका थिए भने सयाै‌ घाइते भएका छन् । लगातारको आन्दोलनका क्रममा भारतको बंगाल सरकारले अघोषित रुपमा नाकाबन्दी नै गरेको थियो । त्यो बेला दार्जिलिङ आसपासका क्षेत्रमा नेपालबाट खाद्यन्न लगिएको थियो ।

लामो समयसम्म पनि भारत सरकारले वास्ता नगरेपछि आन्दोलन हिंसात्मक पनि बनेको थियो । तर, पछिल्लो समयमा कतिपयले उपलब्धीविहीन आन्दोलन भएको भन्दै तीव्र आलोचना हुन थालेको थियो । यसरी आलोचना गर्नेहरुमा गोर्खा जनमुक्ति मोर्चाका नेता गुरुङ, जिटिए अध्यक्ष विनय तामाङ थापालगायत छन् ।

त्यति मात्रै लामो समयसम्म आन्दोलन हुँदा पनि उपलब्धि बिना आन्दोलन रोकेकोमा स्थानीय जनता पनि निक्कै आक्रोसित भएका छन् । उनीहरुले गोर्खाल्याण्डका लागि स्थापना भएका क्षेत्रीय दलहरु बंगाल सरकारसामु लाचार बनेको आरोप पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस