स्याउ उत्पादन बढ्यो  

Apple prodct

 

मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष ४ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।

कोवाङ, टुकुचे, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको १हजार १ सय १५ हेक्टरमा स्याउ खेती गरिएको छ । करिब ३ सय ७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ । रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलिसियस जातको स्याउ खेती गरिएको छ ।

गत वर्ष २३ करोड मूल्य बराबरको ३ हजार २ सय मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैँचामा फलेका स्याउ व्यापारीले अग्रिम पैसा दिएर खरिद गरिसकेका छन् ।

बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौँ, चितवनलगायत जिल्लाबाट व्यापारी आएर बगैँचाबाट टिप्नुअघि नै बोटमै खरिद गर्ने गरेका थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनले बताए । उनले ३० लाखमा बगैँचा नै ठेक्कामा दिएको बताए ।

भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पु¥याउन थालेका छन् । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउले बजार पाएको छ ।

विसं २०६४ मा बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि किसानको उत्साह र जाँगर बढेको छ । बढ्दो तापक्रम र रोगकिराको समस्या स्याउ खेतीमा चुनौती बनेको मार्फा शीतोष्ण बागवानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले बताए ।

पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवा नै छैनन् । कृषकले खेती विस्तारसँगै बगैँचा र रोगकिराको व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकारी बताए ।

प्रतिकृया दिनुहोस