नेपाली सेनाले सुनौलो इतिहास रच्ने

काठमाडौँ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ , तराई–मधेश द्रुतमार्ग फाष्ट ट्रयाकको जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ ।

काठमाडौँ उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना फाष्ट ट्रयाक निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ ।

४ वर्ष अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो ठूलो आयोजनाको निर्माण लागत १ खर्ब १२ अर्ब अनुमान गरिएको छ । सो द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ ।

चालु आवको बजेटमा सरकारले यो द्रुतमार्ग निर्माणमा १० अर्व १३ करोड बजेट विनियोजन गरेको छ ।

सडक निर्माणका लागि नेपाली सेनाले १० स्थानमा कम्तीमा पनि प्रत्येक क्याम्पमा १ सय जना प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित सेना तैनाथ गर्ने कार्य शुरु गरिसकेको छ ।

दु्रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौँ डेढ घण्टामा आइपुग्नका साथै काठमाडौँ उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै पनि वार्षिक रुपमा करिब १० अर्ब बचत हुने जनाएको छ ।

द्रुतमार्गको निर्माण समयमै पूरा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्व र प्रधानसेनापतिको अध्यक्षतामा बेग्लाबेग्लै निर्देशन तथा अनुगमन समिति गठन गरिएको छ ।

छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको ट्रान्जिट मार्गको रुपमा रहने यो मार्गमा डेढ किलोमिटर लामो सुरुङ र ९९ वटा पुल रहने छन् । यो मार्गको ट्रयाक पनि नेपाली सेनाले नै खनेको हो ।

नेपाली सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाली सेनाले हालसम्म मुलुकका २८ वटा सडक निर्माणको जिम्मेवारी पूरा गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । ती सडकको लम्बाइ १ हजार १सय किलोमिटर भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक उद्धव विष्टले जानकारी दिए ।

नेपाली सेनाले ओखलढुंगा–कटारी, सुर्खेत–जुम्ला, बेँसीशहर– चामेजस्ता २८ वटा सडक तोकिएको मिति अगाडि नै निर्माण पूरा गरेको थियो । मुलुकका विभिन्न स्थानमा सेनाले २८ वटा बेलिबृज जडान गरिसकेको छ ।

कठिन भूबनोट, भौगोलिक विकटता, प्रतिकुल मौसम, हवाई साधनमा मात्र निर्भरता, पहुँच मार्गको कठिनाइजस्ता चुनौतीको सामना गर्दै नेपाली सेनाले खनेका सडक सामारिक र रणनीतिक हिसाबले निकै महत्वपूर्ण रहेको प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी दिए ।

नेपाली सेनाले खनेका सडक गुणस्तरीय र कम लागतका हुने तथा तोकिएको समयसीमाभित्रै पूरा हुने भएकाले पछिल्लो समय सरकारले नेपाली सेनालाई त्यसको जिम्मेवारी थप गर्दै गएको हो ।

नेपाली सेनाले अहिले ५  वटा सडक निर्माण गरिरहेको र त्यसको लम्बाइ ५ सय २५ किमी रहेको प्रमुख सेनानी गुरुङले बताए ।

ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जेडिने उक्त मार्गको ट्रयाक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...