विधिवत रुपमा सुरु भयो छठ पर्व, जलाशय क्षेत्र बनाइयो झकिझकाउ

Chhat parba

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ ।

खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ ।

छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ । अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गीत र भजनले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

तराई मधेशपासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

छठ पर्व मनाउँन यतिबेला पोखरी, नदी, तलाउ जस्ता पानीका स्रोत भएका ठाउँलाई सिंगार्ने, सफासुघ्र बनाउने, टेन्ट टाँग्ने क्रम सुरु भइसकेको छ । काठमाडौंका विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।

चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ ।

अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

 

प्रतिकृया दिनुहोस