११ दिन हिँडेर काठमाडौं आएका मिटर ब्याजी पीडितको चित्कार : सुनुवाइ नभएसम्म घर नफर्किने

Miter byaj pidit

काठमाडौं । महोत्तरीको बर्दिबासबाट मिटर ब्याजी विरुद्धको आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल हुँदै काठमाडौँको मातातीर्थ पुगेका छन् ।

मधेश प्रदेशका ८ जिल्लाका साथै कैलाली, झापा र खोटाङका ७२ जना प्रभावितहरु ११ दिन लगाएर काठमाडौँ आइपुगेका हुन् । ऋण लिएको रकमभन्दा बढी ब्याज तिरिसक्दा पनि ऋण नसकिएको र अझै ऋण तिर्न साहुले दबाब दिएकाले न्याय माग्न आफुहरु हिँडेरै काठमाडौँ आइपुगेको मिटरब्याजी प्रभावित मनोज पासवानले बताए ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट मिटरब्याजी विरुद्ध पैदल सुरु गरेका उनीहरू मिटरब्याजीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै पैदलयात्रामा निस्किएका थिए ।

बर्दिबासबाट पैदलयात्रा सुरु गरेको ११औँ दिनमा काठमाडौँ छिरेका मिटरब्याज पीडितहरूले आफ्नो समस्याको सुनुवाइ नभएसम्म काठमाडौँबाट घर नफर्किने जनाएका छन् ।

मिटर ब्याज विरुद्धको सङ्घर्ष समिति नेपालका संयोजक मनोज पासवानले ऋण सापटी लिएकाहरू धेरैजसो घरबारविहीन भएको बताउँदै प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउन र समस्या समाधानका लागि काठमाडौँ आएको बताए । उनले यसअघि धेरै पटक सरकारबाट आश्वासन पाएपनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्किने बताए ।

शुक्रबार बिहान भीमफेदीबाट उकालो लाग्ने क्रममा स्थानीय प्रहरी प्रशासनले मिटर ब्याजपीडितलाई फर्काउन प्रयास गरेपनि विफल भएको थियो । मिटर ब्याज विरुद्धको आन्दोलनमा सहयोग गर्दै आएका अभियानकर्मी सङ्घर्ष दाहालले थप आन्दोलनका कार्यक्रमका बारेमा छलफल गरी प्रधानमन्त्रीसहित सरोकारवालाहरूलाई समस्या सुनाउन सोमबार बिहान काठमाडौँको नयाँ बानेश्वरतर्फ लाग्ने बताए ।

गत वर्ष २८ जेठदेखि दुई चरणमा ६१ दिन धर्ना बसेपछि प्रभावितसँग सरकारले गत असोज १ असोजमा सम्झौता गरेको थियो ।

प्रतिकृया दिनुहोस