राष्ट्रियसभा बैठक : विमानस्थलमा घुसदेखि गुणस्तरीय औषधीसम्मको चर्चा

Rastriya sabha

काठमाडौं । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहीन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहीन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले बजारमा गुणस्तरहीन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने कुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहन्छु ।’

त्यस्तै, राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरूमाथि नराम्रो व्यवहारका घटनाहरू घटिराखेको भन्दै उनीहरूमा सुरक्षा जोखिम बढेको बताइन् । उनले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेकी छिन् ।

राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर बञ्चरे डाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो । यो समस्या फेरी बल्झिने समस्या आइरहेको छ । त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीका बीचमा झडप नहोस् ।’

त्यसैगरी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सरकारी अस्पतालको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन । भन्ने समस्या छ । सरकारी अस्पतालमा वर्षौंदेखिको स्तरोन्नति हुन सकेको छैन । बेड उपलब्ध हुन सक्दैन । सस्तो सुलभ सहज रूपले देशले उपचार गर्न सक्छ भनेर एउटा गरिबले महसुस कहिले गर्ने ? राज्यले यस विषयमा सोच्नु जरुरी छ । राज्यको ध्यान जाओस् ।’

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रस्तुत भएका विधेयकहरू निष्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाए । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरूलाई आग्रह गर्नुभयो ।

यता राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शीतलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र ज्येष्ठ नागरिकलाई न्यानो कपडा राहतको रूपमा दिन सरकारसँग माग गरिन् ।

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरूसहित पक्राउ परेको कुराहरू समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

राष्ट्रिय सभाको मंगलवारको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस