१५ दिनभित्र कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको निर्देशन

Khasi bazar

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको खसीबजार हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै खसी बजार हटाउन निर्देशन दिएको हो ।

सूचना प्रकाशित भएको १५ दिनभित्र खसीबजार सञ्चालन गर्ने ब्यवसायीहरूले वैकल्पिक ब्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिइएको हो । बल्खु खोलमा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएका थिए ।

खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ ।

बस्तिको बीचमा रहेका यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस