कुमारी आमा राजपुतद्धारा शितलनिवास अगाडी शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास

Niharika rajput

काठमाडौं । कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी राजपुतलाई प्रहरीले जोगाएको छ ।

उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थिइन् । उनी साउन २० बाट आमरण अनशनमा छिन् । प्रहरीले उनको साथबाट पेट्रोल लगेको बट्टा र लाइटर बरामद गरेको छ । अहिले उनलाई उपचारका लागी प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगेको छ ।

यसअघि आफूले न्याय नपाएको भन्दै बसन्तपुर र माइतिघरमा लामो समय अनसन बसेकी थिइन् । निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो । सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन् । तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन् ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् । त्यसक्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् ।

त्यस सम्झौतामा निहारिकाले बलात्कार गरेको आरोप लगाएको शिवराम श्रेष्ठ र छोरा डीएनए परीक्षणको कानुनी प्रक्रिया अगाडि बढाउने तथा उनीहरुको सुरक्षा र आश्रयको व्यवस्था सरकारले गर्ने, आर्थिक साहयता उपलब्ध गराउने, राज्यका सम्पूर्ण निकायलाई पीडितमैत्री बनाउने उल्लेख थियो । तर सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुन: धर्ना दिन थालेकी हुन् । साउन २० गते उनले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएपछि पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस