देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष पूरा, के-के भए उपलब्धि ?

Sher bahadur deuwa 15

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको १ वर्ष पूरा भएको छ । पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

देउवा नेतृत्वको वर्तमान गठबन्धनको एक वर्षको कार्यकालमा केही सकारात्मक काम भए पनि बढी विवादास्पद र बदनाममा बितेको छ । प्रधानमन्त्री बन्न संसदमा आवश्यक अंकगणित नभए पनि कांग्रेस सभापति देउवा विशेष राजनीतिक परिस्थितिका कारण पाचौं पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । देउवा नेतृत्वको गठबन्धन सरकार यो १२ महिनाको अवधिमा एकपछि अर्को विवादमा मुछिएको छ ।

व्यवस्थापिका, न्यायपालिका, राष्ट्र बैंक र प्रहरी संगठनमा गर्नै नहुने हस्तक्षेप गरेर सरकारले बदनामी कमाएको छ । यो अवधिमा देउवाको अधिकांश समय मन्त्री फेर्ने र गठबन्धनका सदस्य दलहरुबीचको किचलो मिलाउनमै खर्च भयो ।

गठबन्धनका सदस्यदहरूबीचको विवाद मिलाउनकै लागि प्रधानमन्त्री देउवाले गत वर्ष ४ र यो वर्ष २ पटक गरी ६ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् । गत असार २९ गते आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका उनले १२ महिनामा ३२ जनाको भाग पुर्याएका छन् ।

गठबन्धनको किचलोकै कारण झण्डै तीन महिना अपूर्ण मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्री देउवाले जति पटक मन्त्रीमण्डल विस्तार तथा पुनर्गठन गरे, प्रत्येक पटक आलोचना खेपे ।

कहिले व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाएकोमा त कहिले गैरसांसद र कहिले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री नियुक्त गरेको भन्दै चर्को आलोचना भयो ।

पार्टीको आन्तरिक विवाद मिलाउन सत्ताको दुरुपयोग गर्दै १ वर्ष बीचमा सत्ता साझेदार दल नेकपा एस र जसपाले आलोपालो मन्त्री पठाएका छन् ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशको सडकदेखि संसदसम्म तीव्र विरोध गरेको वर्तमान पाँच दलीय गठबन्धन नेतृत्वको सरकार पनि त्यही पदचापमा अघि बढ्यो ।

 

प्रतिकृया दिनुहोस