स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत : थापा

Gagan kumar thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन् ।

थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति संविधानको मर्मअनुरूप भएको उल्लेख गरेका छन् । महामन्त्री थापाले निर्वाचनको मिति तोकिएसँगै निर्वाचन टार्ने गरी भएका बहससमेत सकिएको बताएका छन् । 

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,’ उनले लेखेका छन्‚ ‘संविधानको मर्म अनुरूप छ ।’ साथै उनले संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नभएको समेत सचेत गराएका छन् ।

‘स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ‚’ उनले उल्लेख गरेका छन्‚ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

प्रतिकृया दिनुहोस