चीनका युवती अत्यधिक जोखिम मौल्दै किन गरिरहेछन् ? यस्तो छ कारण

China surgery

काठमाडौं । आफ्ना थुप्रै साथी झैं २३ वर्षकी रक्सिन हरेक दिन आफ्नो सोसल मिडिया फिडलाई स्क्रोल गर्छिन् तर उनी अरुभन्दा भिन्न केही विशेष कुरा त्यहाँ खोज्छिन् ।

उनी कस्मेटिक सर्जरीबारे अपडेट हुन चाहन्छिन् । हरेक स्क्रोलसँगै उनी यसबारे नयाँ जानकारी थाहा पाउने कोसिस गर्छिन् ।

रक्सिन डबल आइलिडको शल्यक्रिया गराउनेबारे सोचिरहेकी थिइन् । यो एउटा यस्तो शल्यक्रिया हो जहाँ सर्जनले आँखाको माथिल्लो भागमा एउटा क्रिज बनाउने गर्छन् । साधारणतया यो शल्यक्रिया आँखा ठूलो देखाउनका लागि गर्ने गरिन्छ ।

चीनको गुआंगचोमा बस्ने रक्सिन हरेक दिन यसका लागि गेंगमेई एपमा लगइन गर्छिन् ता कि शल्यक्रियाका लागि राम्रो सर्जन पाउन सकियोस् ।

उनले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘हुन त शहरमा धेरै क्लिनिक छन् तर म सबैभन्दा राम्रो क्लिनिकमा आफ्नो शल्यक्रिया गराउन चाहन्छु । यो मेरो अनुहारसँग सम्बन्धित छ त्यसैले पनि म अलि बढी सचेत छु ।’

गेंगमेईको चिनियाँ शब्दको अर्थ हो – अत्यधिक सुन्दर ।

चीनमा यस्ता थुप्रै सोसल मिडिया प्लेटफर्म छन् । गेंगमेई तिनैमध्येको एक हो जहाँ प्रयोगकर्ता प्लास्टिक सर्जरी जस्ता लिपोसक्शन र नाक राम्रो बनाउने शल्यक्रियाबारे जानकारी सेयर गर्छन् ।

यो अन्य प्रचलित एपजस्तै हो जहाँ प्रयोगकर्ताले आफ्नो खोजलाई विभिन्न फिल्टर्सको माध्यमले निश्चित गर्ने गर्छन् । यसमा आफू अनुरुप राम्रोभन्दा राम्रो विकल्प खोज्न सकिने सुविधा छ ।

सन् २०१३ मा सार्वजनिक भएपछि गेंगमेईका प्रयोगकर्ता १० लाखबाट बढेर ३.६ करोड पुगेका छन् जसमा आधाभन्दा बढी प्रयोगकर्ता महिला छन्, तीमध्ये पनि धेरैको उमेर २० वर्ष वा त्योभन्दा अलिकति मात्रै बढी छ ।

यस्तै प्रकारको अर्को एउटा कस्मेटिक सर्जरी प्लेटफर्म छ – सो–यंग । सन् २०१८ मा यसका १४ लाख मासिक सक्रिय प्रयोगकर्ता थिए जुन आज बढेर ८.४ मिलियन भइसकेका छन् ।

यी एप्स र सोसल मिडिया प्लेटफर्मका सक्रिय प्रयोगकर्ता, सब्सक्राइबर्स र फलोअर्सको संख्याबाट नै यसको लोकप्रियताको अन्दाज लगाउन सकिन्छ । यसको अर्को एउटा पाटो यो पनि हो कि चीनमा कस्मेटिक सर्जरी तीब्र गतिमा लोकप्रिय भइरहेको छ । हालैको आँकडाको हिसाबले भन्नुपर्दा अमेरिकापछि चीन दोस्रो देश हो जहाँ सबैभन्दा बढी कस्मेटिक सर्जरी हुने गर्छ ।

डेलाइटको एक रिपोर्टका अनुसार पछिल्लो चार वर्षमा चीनमा कस्मेटिक सर्जरीको बजार तीन गुणा बढिरहेको छ । सन् २०१९ मा यो १७७ अर्ब डलर नजिक थियो जसमा २८.७ प्रतिशतको दरले वार्षिक वृद्धि भएको छ जबकी विश्वव्यापी स्तरमा यो दर ८.२ प्रतिशत मात्रै छ ।

यसैमार्फत् अन्दाज लगाउन सकिन्छ कि चीनमा कस्मेटिक सर्जरी कतिसम्म लोकप्रिय भइरहेको छ ।

द ग्लोबल टाइम्सका अनुसार यदि यो लोकप्रियता र मानिसहरुमा कस्मेटिक सर्जरीबारे यसै गरी उत्साह बनिरहेको खण्डमा यो दशकको मध्यसम्म चीन संसारमा कस्मेटिक सर्जरीको सबैभन्दा ठूलो बजार बन्न सक्छ ।

तर कस्मेटिक सर्जरीमा पनि केही निश्चित चिज वा सर्जरी सबैभन्दा बढी लोकप्रिय छन् । केही रिपोर्टका अनुसार डबल आइलिड, भी–शेप ज लाइन, चुच्चो नाक बनाउने शल्यक्रिया मानिसमा बढी प्रचलित छ ।

 

यसबाहेक विभिन्न कालखण्डमा विभिन्न चलन लोकप्रिय हुने गर्छ । सन् १९९६ पछि जन्मिएकाहरु यस्तो गर्न न त झर्को मान्छन् न नै हिच्किचाउँछन् । जबकी यस अघिसम्म यसको विषयमा निकै असहजता थियो ।

फेशन रिटेलमा काम गर्ने रक्सिन भन्छिन्, ‘म र मेरा साथीहरु कुनै पनि साधारण कुराकानी जस्तै यसबारे पनि कुरा गर्छौं । कुरा मात्रै होइन खुल्ला रुपमा कस्मेटिक शल्यक्रिया गराउने विषयमा पनि चर्चा गर्छौं ।’

कडा नियमको आवश्यकताः

तर चीनमा हुने कस्मेटिक सर्जरीमा सकारात्मक पक्ष मात्रै छन् भन्ने होइन । कस्मेटिक सर्जरीको बजारमा जुन वृद्धि भइरहेको छ त्यसले तपाईंलाई हानी पनि गर्छ ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार सन् २०१९ मा देशमा ६०,००० भन्दा बढी लाइसेन्स बिनाका प्लास्टिक सर्जरी क्लिनिक थिए । रिपोर्टमा बताइए अनुसार लाइसेन्स बिना यी क्लिनिक हरेक वर्ष लगभग ४०,००० भन्दा बढी ‘चिकित्सकीय दुर्घटना’ का लागि जिम्मेवार थिए ।

जसमा एक हाई–प्रोफाइल मामिला पनि सार्वजनिक भएको थियो जसमा एक अभिनेत्री गाओ लियूले आफ्नो कस्मेटिक सर्जरीबारे अनलाइनमा जानकारी दिएकी थिइन् ।

यसमा उनको नाक नराम्रोसँग बिग्रिएको थियो ।

उनका अनुसार यो गल्तीलाई ठिक पार्नका लागि उनले थप शल्यक्रिया गर्नुपर्ने तर उनले यसअघि नै ४,००,००० युआनभन्दा बढी खर्च गरिसकेकी थिइन् ।

उनले यसबारे जानकारी साझा गरेपछि उनको सर्जनलाई निष्कासित गरियो साथै अस्पतालमा ४९,००० युआनको जरिवाना लगाइयो ।

थुप्रै इन्टरनेट प्रयोगकर्ताले यत्तिको जरिवाना पर्याप्त नभएको बताएका छन् । एक प्रयोगकर्ताले लेखेका थिए, ‘यो कसैलाई अपाङ्ग गराएको सजाय हो ?’ उनीहरुले यो इन्डष्ट्रिका लागि थप कडा नियम बनाउने माग गरेका थिए ।

पछिल्लो महिना चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिना लाइसेन्सको कस्मेटिक शल्यक्रिया प्रदायकको पहिचानका लागि अभियानको घोषणा गरेको थियो जसमा ग्राहकको ऊजुरी चाँडोभन्दा चाँडो परीक्षण गर्नु पनि समावेश छ ।

जोखिम किन लिने ?

विशेषज्ञले बीबीसीसँगको कुराकानीमा चीनमा धेरैजसो मानिसहरुले आवरणलाई अत्यधिक महत्व दिने र यसको कारण सुन्दर बन्नका लागि कस्मेटिक शल्यक्रियाको प्रयोगले प्रश्रय पाइरहेको बताएका छन् ।

हङ्गकङ विश्वविद्यालयमा जेन्डर स्टडीजका प्राध्यापक डा. ब्रेन्डा एलेग्रे भन्छिन्, ‘लुक्सको हिसाबले जे कुरालाई आदर्श मानिन्छ, त्यो अनुरुप आफूलाई ढाल्दा तपाईंको माग पनि बढ्ने गर्छ । रोमान्सका लागि मात्रै होइन, जागिरका लागि पनि ।’

चीनमा जो मानिसहरु जागिरका लागि आवेदन दिन्छन् उनीहरुले तस्बिर पनि पठाउनुपर्ने हुन्छ । केही जागिरमा त खुल्ला रुपमा शारीरिक बनावटको विषयमा नियम–शर्त लेखिएका हुन्छन् । विशेषगरी महिलाका लागि ।

सन् २०१८ को ह्यूमन राइट्स वाचले चीनको सेक्सिस्ट जब विज्ञापनमाथि एउटा रिपोर्ट प्रकाशित गरेको थियो । जसमा एउटा उदाहरण दिँदै कुनै एक विज्ञापनमा सुन्दर क्लोदिङ सेल्स असोसिएटका लागि मगाइयो र अर्को विज्ञापनमा ‘फेसनेबल र सुन्दर’ ट्रेन कन्डक्टरको आवेदन मागिएको थियो ।

र आजको समयमा इन्टरनेटमा विभिन्न अवसर उपलब्ध हुन्छन्, त्यहाँ पनि लुक्सले निकै महत्व राख्छ । जानकार मान्छन् कि आजको समयमा अपियरेन्स निकै महत्वपूर्ण भएको छ ।

गेंगमेईका सह–संस्थापक वांग जूनले बीबीसीलाई भने, ‘सुन्दरताले करियरमा बढी अवसर उपलब्ध गराउन सक्छ । उदाहरणका लागि लाइभ स्ट्रिमिङ र अनलाइन भिडियो जस्ता कामका लागि ।’

गेंगमेईले आफ्नो प्लेटफर्ममा लाइसेन्स प्राप्त सर्जनसँग मात्रै काम गर्ने दाबी गरेको छ । चीनको टेबलोयड कल्चर पनि यसका लागि जिम्मेवार हुनसक्छ ।

पत्रपत्रिका, टेलिभिजनले धेरैजसो चर्चित हस्तीको अपियरेन्सका लागि आलोचना गर्ने गर्छन् । यसै वर्षको सुरुवातमा शंघाईमा एक आर्ट ग्यालरी राखिएको थियो जसमा महिलाको तस्बिरलाई सबैभन्दा सुन्दरदेखि सबैभन्दा नराम्रीको क्रममा राखिएको थियो ।

कस्मेटिक सर्जरीबारे एक किताबमा काम गरिरहेका बेइजिङकी फोटो पत्रकार लू यू फेनले बीबीसीसँगको कुराकानीमा ठूलो भएपछि मानिसहरु आफ्नो लुक्सको विषयमा निकै स्पष्ट हुने बताएकी छिन् ।

२९ वर्षकी उनी भन्छिन्, ‘मलाई मेरा आफन्तले म कुनै टिभी नायिकाजस्तो देखिने बताउने गर्थे । ती कुनै सुन्दर नायिका थिइनन्, फनी क्यारेक्टरकी अभिनेत्री हुन्थिन् ।’

उनी भन्छिन्, ‘जब म मिडिल स्कूलमा थिएँ हाम्रा कक्षाका केटाहरुले कक्षाका सबैभन्दा सुन्दर केटी को हो भनेर निश्चित गर्दथे । उनीहरुले मलाई सुन्दर केटीको श्रेणीमा पाँचौं स्थानमा राखेका थिए ।’

फेनले जुन प्रोजेक्टमा काम गरिरहेकी छिन् यसका लागि उनले ३० कस्मेटिक सर्जरी क्लिनिक्सको भ्रमण गरेकी छिन् । उनी भन्छिन्, ‘सबै क्लिनिकको भ्रमण गर्दा मलाई सबैका सर्जनले मेरो अनुहारमा के–के सुधार गर्न सकिन्छ भनेर बेलिबिस्तार सुनाए ।’

रक्सिन जुन शल्यक्रिया गराउनेबारे विचार गरिरहेकी छिन् त्यो उनका लागि सस्तो छ । यसको लागत ३ सय डलरदेखि १२ सय डलरको बीचमा छ ।

तर यो पहिलो चरण मात्रै हो ।

उनी भन्छिन्, ‘यदि यो राम्रो भए, सायद म अरु शल्यक्रिया गर्नेबारे पनि सोच्नेछु । आखिर सुन्दर को देखिन चाहँदैन र ?’ बीबीसी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...