भेटियो हजार वर्षअगाडिको नयाँ प्रकारको प्राचीन मानव प्रजाति

Old human

काठमाडौं । इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन् । राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ ।

उत्खनन गरिएका जिवावशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन् । यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ । अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन् ।

वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई ‘नेशर राम्ला होमो’ प्रकार भनेर नामकरण गरेका छन् । तेल अभिभ विश्वविद्यालयकी डा. हिला मेले यो खोजले नीयान्डर्टाल र मानव विकास क्रमसम्बन्धी विवरणलाई नयाँ आकार दिने बताइन् ।

नीयान्डर्टाल विकास क्रमलाई यसअघि युरोपसँग जोडिने गरिएको थियो । ‘यो सबै इजरेलमा सुरु भएको थियो । यहाँको स्थानीय समूह नै स्रोत जनसङ्ख्या भएको हामीले सुझाव दिएका छौँ,’ उनले भनिन् ।

‘नेशर राम्ला मानिसहरूको लहर मध्यपूर्वबाट युरोपतिर सरेका थिए ।’ नेशर राम्ला मानवको पहिलो पुस्ता चार लाख वर्ष अगाडि नै मध्यपूर्वमा रहेको अध्ययनकर्ताहरूको विश्वास छ । नयाँ खोजिएको प्रकार र नीयान्डर्टालको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको उनीहरूले बताएका छन् ।

डा. मेले नेशर राम्लाहरू नीयान्डर्टालको पुर्खा हुनसक्ने बताइन् । उनले नेशर राम्लाहरू आदिम मानवका अन्य प्रकारसँग सन्तानोत्पादन गर्दै युरोपतिर गएको र अन्य समूहहरू एशियाका भारत र चीनतर्फ गएको हुनसक्ने बताइन् ।

यसले एशियाका आदिम मानव र युरोपका नीयान्डर्टालबीचको सम्बन्धमा रहेको खाडल पनि पुर्ने उनले बताइन् । ‘पूर्वी एशियामा पाइएका केही अवशेषहरू नीयान्डर्टाल र नेशर राम्लासँग केही समानता भएका छन्,’ प्राध्यापक इजरेल हेर्सकोभिट्जले भने ।

नेशर राम्लाको अवशेष भेटिएको स्थान आदिम मानिसहरू आवतजावत गर्ने स्थान थियो । यो क्षेत्रमा भेटिएका ढुङ्गाका हतियारहरूका कारण यो स्थान उनीहरूले सिकार खेल्ने स्थान हुनसक्ने बताइन्छ । बिबिसिबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...