यस्तो पनि ! नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी, किनेर खान सक्नुहुन्छ ?

Morchella rufobrunneafs

काठमाडौं । के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो ? यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो कि यो तरकारी नेपालमै उत्पादन हुन्छ ।

नेपालको विशेषगरी हिमाली क्षेत्र, त्यसमा पनि कर्णाली प्रदेशमा यो तरकारी पाइन्छ । यसबाहेक भारत, भुटान, तिब्बतको हिमाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । यसबाहेक उत्तरी गोलार्द्धका अन्य क्षेत्रमा पनि यो च्याउ पाइन्छ ।

नेपालीमा गुच्ची च्याउ भनिने यो तरकारीलाई अंग्रेजीमा कोरल मशरुम भनिन्छ । यो प्राकृतिक रुपमा उम्रिने च्याउ हो जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ प्रतिकिलो पर्छ ।

अनुसन्धानकर्ताहरु जयकान्त राउत, जीतेन्द्र उपाध्याय, विजय राघवन, मिनु अधिकारी, सन्तोषी भुसाल, प्रगुन सुन्दर सैंजू, चन्द्रमोहन गुर्मछान, अञ्जना गिरी र लोकरञ्जन भट्टले नेपालमा यो च्याउको व्यापार र संरक्षणका विषयमा संयुक्त रुपमा गरेको अनुसन्धानको शोधपत्र साइन्स पब्लिसिङ ग्रुप जर्नलमा प्रकाशित भएको छ ।

२० नोभेम्बर २०१९ मा प्रकाशित यो शोधपत्रमा उल्लेख भएअनुसार नेपालमा यो च्याउ हिमाली क्षेत्रमै गएर संकलन गर्ने संकलकले प्रतिकिलो ५ हजार रुपैयाँमा बिक्री गर्छन् ।

शोधपत्रका अनुसार थोक बिक्रेताले यो च्याउ १६ हजार रुपैयाँ प्रतिकिलो बिक्री गर्छन् । राष्ट्रिय बजारमा यो च्याउको खुद्रा मूल्य २० हजार रुपैयाँ प्रतिकिलो छ र अन्तर्राष्ट्रिय बजारमा यो च्याउ ३० हजार देखि ४० हजार रुपैयाँसम्म प्रतिकिलो निकासी हुन्छ ।

शोधकर्ताहरुका अनुसार नेपालमा यो च्याउ संकलन गरेपछि सुकाउने, ग्रेडिङ गर्ने र प्याकिङ गरेर बजारमा पठाइन्छ । यसबाहेक अन्य कुनै पनि किसिमको प्रशोधन नेपालमा अहिलेसम्म हुने गरेको छैन ।

यो तरकारी मुटु सम्बन्धि रोगका लागि निकै उपयोगी मानिन्छ । यसबाहेक यसमा अन्य कैयौं प्रकारका पौष्टिक तत्व पाइन्छ । यो तरकारीको माग विदेशी बजारमा निकै ठूलो छ ।

अन्तर्राट्रिय स्तरको अनलाइन सपिङ प्लेटफर्म अलीबाबामा यो च्याउको मूल्य १५० डलर प्रतिकिलोदेखि ३२० डलर प्रतिकिलोसम्म उल्लेख छ । यद्यपि अलीबाबाबाट यो मूल्यमा च्याउ थोकमा किन्नुपर्छ । कम्तीमा १० किलो किन्दा मात्र यो मूल्यमा पाइन्छ । अर्को ठूलो सपिङ प्लेटफर्म अमेजनमा पनि लगभग यससँग मिल्दो मूल्य नै छ ।

गुच्चीको वैज्ञानिक नाम मोर्सेला एस्क्युलेन्टा हो । आम रुपमा यसलाई मोरेल्स पनि भनिन्छ । यसलाई स्पन्ज मशरुम पनि भनिन्छ । यो नेपालको कर्णाली प्रदेश, भारतको हिमाचल प्रदेश र जम्मु कश्मिरमा उत्पादन हुन्छ । वर्षाको मौसममा यी च्याउहरु आफैं पनि उम्रिन्छन् । तर, निकै जोखिमपूर्ण उच्च पहाडी क्षेत्रमा हुने भएकोले यसलाई संकलन गन निकै कठिन हुन्छ । यही कारण यसको मूल्य निकै उच्च छ ।

अमेरिका, युरोप, फ्रान्स, इटली र स्विजरल्याण्डमा यो च्याउको माग उच्च छ । यसमा उच्च मात्रामा भिटामिन बी, सी, डी र के हुन्छ । उच्च पहाडी षेत्रमा उम्रिने गुच्ची फेब्रुअरीदेखि अप्रिल महिनासम्म पाइन्छ ।

प्रतिकृया दिनुहोस