सचेत बन्नुस् अब तपाइँले सेक्स गरेको पनि फेसबुकले यसरी थाहा पाउने

Sex.

काठमाडौं । तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ ।

प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ । त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट फेसबुक समेत रहेको छ ।

५० लाख पटक डाउनलोड
बजफिडको एक रिपोर्ट अनुसार प्राइभेसी इन्टरनेसनलले हालै एउटा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा पाइए अनुसार महिलाहरुको महिनावारीलाई ट्रयाक गर्ने दुईवटा सबैभन्दा लोकप्रि एपले फेसबुक सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट थर्ड पार्टी एप्स तथा वेबसाइटसँग आफ्नो प्रयोगकर्ताका यस्ता निजी जानकारीहरु शेयर गर्दछन् । रिपोर्ट अनुसार यसरी संवेदनशील जानकारी शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप २० लाख पटक डाउनलोड भैसकेको छ ।

लक्षित विज्ञापन देखाउने खेल
अनुसन्धानकर्ताहरुका अनुसार यी एप बनाउनेले फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट एप्सलाई केही खास फिचर्सले अपडेट गरी प्रयोगकर्ताका डाटाहरु संकलन गर्दछन् । फेसबुकलाई लक्षित विज्ञापन देखाउन सहयोग गर्नका लागि उनीहरुले त्यस्ता संकलित डाटाहरु फेसबुकलाई शेयर गर्दछन् । यतिमात्र होइन, प्रयोगकर्ताले यी एपमा हालेको आफ्नो व्यक्तिगत जानकारी तथा सबै विवरणहरु सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट सीधै फेसबुकलाई पठाउने गर्दछन् ।

प्रयोगकर्ताको मूड थाहा पाउने एप
बजफिडका अनुसार माया एपले कथित रुपमा प्रयोगकर्ताले उसको गोपनीयता नीति स्वीकार गर्नुअघि नै प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गर्दछ । केही फिचर्सको सहायताले उक्त एपले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ ता कि फेसबुकले प्रयोगकर्ताको मुडको हिसाबले विज्ञापन देखाउन सकोस् । यसले प्रयोगकर्तासम्म लक्षित विज्ञापन पर्‍याउन कम्पनीहरुलाई सजिलो हुन्छ । शोधकर्ताहरुका अनुसार यसबाट कम्पनीहरुलाई निकै फाइदा हुन्छ किनकि जो महिलाहरु गर्भवती छन् वा हुनेवाला छन् उनीहरुको शपिङ गर्ने तरिकामा निकै परिवर्तन आउने सम्भावना हुन्छ ।

रजश्वला तथा गर्भलाई ट्रयाकिङ्ग गर्ने एपका बारेमा खुलासा भएसँगै कैयन् महिलाहरुले यो एपको प्रयोग बन्द गरेका छन् । आफ्ना व्यक्तिगत स्वास्थ्य सम्बन्धी डाटाहरुलाई यी एपले आफ्ना रोजगारदाता तथा विमा कम्पनीहरुसँग पनि शेयर गर्नसक्ने उनीहरुको आशंका छ । विभिन्न उत्पादक कम्पनीहरुले विज्ञापनका लागि यस्ता डाटाको गलत फाइदा उठाउन सक्दछन् भने विमा कम्पनीहरुले प्रिमियम बढाउन सक्दछन्। यस्तो खतराबाट बच्नका लागि केही महिलाहरुले अनौठो उपाय अपनाइरहेका छन् । उनीहरुले यो एपको प्रयोग त गरिरहेका छन् तर त्यसमा आफ्नो गलत विवरण भरिरहेका छन् ।

फेसबुकले अनुसन्धान गर्ने
एपहरुमार्फत महिलाका गोप्य जानकारीहरु फेसबुकमा शेयर हुने खुलासा भएसँगै यो विषयलाई फेसबुकले गम्भीर रुपमा लिएको छ । उसले यसबारेमा प्राइभेसी इन्टरनेसनल सँग सम्पर्क गरेको बताएको छ । सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट डाटा शेयर गर्ने एप्सको पहिचान गर्ने प्रयास भैरहेको फेसबुकले जनाएको छ । फेसबुक प्रवक्ताले भनेका छन्, ‘हामीसँग यस्तो प्रणाली छ जसबाट हामीले यी डाटाको पहिचान गरी त्यसलाई डिलिट गर्न सक्दछौँ । आगामी दिनमा यस्तो घटना नहोस् भनेर यसका लागि हामीले आफ्नो सिस्टममा आवश्यक परिवर्तन पनि गरिरहेका छौँ ।’

प्रतिकृया दिनुहोस