ईद घरमै बसेर मनाउन समाजवादी कांग्रेसको आग्रह

Samajbadi congres news 12

काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले प्रतिकुल परिस्थितिमा आइपुगेको ईद घरमै बसेर मनाउन आग्रह गरेका छन् ।

इस्लाम धर्मावलम्वीहरुको ठूलो चाड ईद (ईदुल फित्र) को शुभकामना दिँदै अध्यक्ष निरौलाले कोरोनाको संक्रमणबाट जोगिन घरमै बसेर आफ्ना धर्मअनुसार इदुल फित्र मनाउन आग्रह गरेका हुन् ।

अध्यक्ष निरौलाले ईदले एकताबद्ध भएर कोरोनाविरुद्ध लड्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । ‘कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिंगो नेपाली एकताबद्ध हुन र धैर्य गर्न आवश्यक छ’ सन्देशमा भनिएको छ, ‘भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने ईदले एकताबद्ध भएर कोरोना भाइरसविरुद्ध लड्न सबै नेपालीलाई प्रेरणा दिने र कोरोना भाइरस छिट्टै नियन्त्रण हुने विश्वास लिएको छु ।’

मुसलमान समुदायले आज विशेष नमाज पाठ गरी ईद उल फित्र मनाउँदैछन् । यो पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ ।

मस्जिद, ईदगाह लगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएकाले घरमै परिवारका सदस्य बीच नमाज पाठ गरेर ईद उल फित्र मनाइँदैछ । ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ ।

प्रतिकृया दिनुहोस