यसकारण नेपाल आउँदैछन् बेलायती रक्षा राज्यमन्त्री ल्यानकास्टर

Images cms image 000067823

काठमाडाैं । बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टर नेपाल भ्रमणमा जाने भएका छन् । उनी भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारको प्रस्ताव लिएर फेब्रुअरी १८ मा नेपाल जान लागेको लन्डनस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । प्रस्तावमा के छ भन्नेबारे खुलाइएको छैन ।

कुनै बेला गोर्खा ब्रिगेडमा समेत कार्यरत ल्यानकास्टर गोर्खा मुद्दाका जानकार मानिन्छन् । चार दिन नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । बेलायत र नेपाल सरकार एवं भूतपूर्व गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक कमिटीले कयौं चरणका वार्तापछि वर्ष दिनअघि दुई देशका सरकारलाई बेग्लाबेग्लै प्रतिवेदन बुझाएको थियो ।

नेपाल सरकारले समेत भेदभाव भएको र यो समस्याको उचित सम्बोधन गरिनुपर्नेमा जोड दिँदै आएकाले भूपू गोर्खा यसपटक आशावादी छन् । उनीहरूले अवकाश पाएदेखि अंग्रेजसमान पेन्सन, स्टेट पेन्सन, रिडन्डेन्सीमा पठाइएकालाई एकमुष्ट उपदान, विधवा र हवाई काण्डमा परेका १ सय २१ जनालाई उचित क्षतिपूर्ति, सन् १९६५ यता जन्मिएका वयष्क सन्तान सबैलाई आवासीय अधिकार माग्दै आएका छन् । बेलायतको उच्च अदालत र युरोपेली अदालतले समान पेन्सनसम्बन्धी मुद्दामा हराइसकेकाले अब कूटनीतिक विकल्प मात्र बाँकी छ ।

 

प्रतिकृया दिनुहोस