डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

Chattyan

डडेल्धुरा । चट्याङ लागेर आज २ जनाको मृत्यु, ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।

बिहान साढे २ बजे एक्कसी चट्याङ लागेर घरमै सुतिरहेको अवस्थामा सरस्वतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन् ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको अवस्था समान्य रहेको छ ।

प्रतिकृया दिनुहोस