नमुना काम गरेर अब्बल बनेका स्थानीय तह

Hetauda

काठमाडौ‌ । यतिबेला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा स्थानीय तहले लगाएको करको चर्चा भैरहेको छ । धेरैजसो स्थानीय तहले जनताको ढाडै भाँचने गरी कर लगाएका छन् ।

मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय तहले लागू गरेका कर प्रणालीको सर्वत्र आलोचना भएको छ । जनताको करबाट पालिएका जनप्रतिनिधिले आफ्नो सेवासुविधा बढाउनुका साथै महँगा गाडी खरिद गरेको भन्ने आमगुनासो छ । तर, कतिपय स्थानीय तहले एक वर्ष अवधिमा सुधारात्मक काम गरेर जनताको मन जितेका छन्।

केही गाउँ–नगरपालिकाले नमुनायोग्य काम गरेको भन्दै स्थानीय जनताले प्रशंसासमेत गरेका छन्। जनप्रतिनिधिले यही गतिमा काम गरे समृद्घ गाउँ–नगरको सपना ठाउँ नरहेको उनीहरूको टिप्पणी छ। केही नगरपािलकाले शिक्षा, सामाजिक सुरक्षा, खानेपानी, सडक, विद्युत्, कृषिलगायत क्षेत्रमा गरेको सुधारात्मक कदमबाट नागरिक आशावादी देखिन्छन्।

इलामको सूर्योदय नगरपालिकाले गरिरहेका कामको प्रशंसा एक नम्बर प्रदेशमै हुन थालेको छ। भौगोलिक सौन्दर्य र आर्थिक सक्षमताले मात्र होइन, अन्य स्थानीय तहभन्दा केही फरक काम र काम गर्ने फरक शैलीले सूर्योदय सफलताको बाटोतिर लम्किँदै गएको हो।

फोहोरमैला व्यवस्थापन, सरसफाइ र सहरी सुन्दरता बनाउने अभियानले धनकुटाको मुहार फेरिँदै गएको छ। ‘हामी कृषि र सरसफाइका क्षेत्रमा नमुना सहर बनाउँछौं र पर्यटकीय गन्तव्यको क्षेत्र बनाउँछौं’, मेयर चिन्तान तामाङले भने।

महोत्तरीको मटिहानी नगर क्षेत्रभित्र रहेको बजार क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ। हटिया लाग्ने क्षेत्र र बसपार्कलाई ‘फ्री वाइफाई’ क्षेत्र बनाइएको छ।

नगरपालिकाका ९ वटै वडामा गरी ६ किलोमिटर सडकमा पिसिसी ढलान गरिएको छ। यस्तै एक करोड रूपैयाँ लागतमा सबै वडामा सोलार बत्ती राखेर सडक उज्यालो बनाइएको छ।

३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा उपमहानगरपालिका देशमै सफा र सुन्दर सहरका नामले चर्चित छ। एकपटक पहिलो र एकपटक तेस्रो सफा सहर घोषित हुँदै हेटौंडाले अव्बल नगरपालिकामा सूचीकृत गरेको छ।

आर्थिक वर्ष २०५०र५१ मा मुख्य बजारको सडकमा दायाँबायाँ रोपिएको अशोकको रूखले आकर्षणसँगै हरियाली थपेको छ।

फूलैफूलको सहर बनाउने अभियानमा लागेको बताउँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पाँच वर्षपछि हेटौंडालाई देशमै हेर्न लायकको राम्रो सहर बनाउने दृढताका साथ काम सुरू गरेको बताए। उनका अनुसार स्मार्ट सिटी सहरको मापदण्डअनुसार २१ औं शताब्दीको सहरीकरण, सडक, खानेपानी, खुला क्षेत्र, चिल्ड्रेनपार्कलगायतको नयाँ सहरको अवधारणा ल्याउने तयारीमा उपमहानगरपालिका छ।

दुईपटक देशकै उत्कृष्ट नगर बन्न सफल वालिङ नगरपालिका ‘स्मार्ट सिटी र स्मार्ट भिलेज’ को अवधारणाका साथ अगाडि बढेको छ।

तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको खाजा कार्यक्रमले आर्थिक रूपमा विपन्न अभिभावकलाई राहत पु¥याएको छ।

नगरपालिकाले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन बाल विकासका सबै विद्यार्थीलाई दिवा खाजा कार्यक्रम उपलब्ध गराउन थालिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए। ‘कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनु हो’ उनले भने, ‘अर्को बर्षसम्म २० देखि १५ प्रतिशत विद्यार्थी संख्या बढ्ने हाम्रो अपेक्षा छ।’

प्रतिकृया दिनुहोस