‘फेरी उठ्नेछ नेपाल’ कन्सर्ट स्थगित

Fb

काठमाडौं । गत माघ १३ गते शनिवार बुटवलस्थित बुटवल मण्डपमा भव्य कन्सर्ट गरेको ‘प्रोजेक्ट वान’ले आगामी माघ २७ गते ललितपुरको जावलाखेलमा गर्ने भनिएको ‘फेरी उठ्नेछ नेपाल’ कन्सर्ट स्थगित भएको छ ।

मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ताजस्ता चर्चित रक व्याण्ड आबद्ध व्याण्डले प्राविधिक कारणले कन्सर्ट स्थगित गर्नु परेको जनाएको छ ।

व्याण्ड संस्थापक ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले व्याण्डको डेब्युट एल्बमको तयारी भइरहेकोले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कन्सर्ट स्थगित गरिएको बताए । ‘बुटवलको कन्सर्ट सफलतापूर्वक सम्पन्न भएपछि हामी जावलाखेलको तयारीमा थियौं ।

तर व्याण्डको डेब्युट एल्बमको तयारी र फेब्रुअरी महिना भित्रै म्युजिक भिडियो पनि सार्वजनिक गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कन्सर्टलाई स्थगित गरेका छौं,’पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले भने,‘हाम्रो निर्णयले दर्शक दुःखी हुनुभएको छ भन्ने लागेको छ । त्यसकारण केही समयका लागि धैर्य रहन आग्रह गर्दछौं ।’

विकेशले व्याण्डको सदस्यले कन्सर्टमा आफ्ना फ्यानका लागि विशेष प्याकेज दिनका लागि रिहल्सल भइरहेको खुलाए । ‘दर्शकलाई खुशी दिनका लागि हामी नृत्यसहित कन्सर्टमा आउने तयारी गरिहेका छौं । त्यसको रिहल्सल भइरहेकाले केही समय पर्खिनुपर्नेछ ।’

उनले भने । उनले ललितपुरको कन्सर्टका लागि टिकट किनिसकेका दर्शकको टिकट वापतको रकम फिर्ता गरिदिने वा हालसालै लिइएको टिकटलाई मान्यता दिइने बताए । व्याण्डले एल्बम र भिडियोको काम सकिएपछि नयाँ कन्सर्टको मिति सार्वजनिक गर्ने जनाएको छ ।

व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।

प्रतिकृया दिनुहोस