मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना (पूर्णपाठ सहित)

मोदीको सन्देशमा के छ ?

Narendra modi

काठमाडौं । नयाँ संविधान जारी भएको दुई वर्षपछि भारतले स्वागत गरेको छ । भारतले संविधान दिवसको अवसरमा शुभकामना पनि दिएका छन् ।

संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामना दिएको हो ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका हुन् ।

भारतले संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाउँदा नेपालमा अन्तर्राष्ट्रिय समुदाय विभाजित भएको थियो । ३ असोज २०७२ मा संविधान जारी हुनु दुई दिनअघि भारतीय प्रधानमन्त्री मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रूपमा नेपाल पठाएर संविधान स्थगित गर्न दबाब दिएका थिए । भारतको दबाब अस्वीकार गरी प्रमुख दल कांग्रेस, एमाले र माओवादीको सहमतिमा संविधान जारी भएको थियो ।

भारतको शुभकामना सन्देशलाई नेपाल सरकारले अर्थपूर्ण रूपमा लिएको छ । भारतीय प्रधानमन्त्री र राष्ट्रपतिले एकैसाथ संविधान दिवसका अवसरमा शुभकामना दिनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।

मोदीको सन्देशमा के छ ?
भारतका प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई पठाएको सन्देशमा शान्ति, स्थायित्व र विकासको राष्ट्रिय प्रयास प्राप्त गर्ने नेपाली जनताको चाहनालाई समर्थन गर्न भारत दृढ रहेको उल्लेख छ । उनले दुई देशबीच जनस्तरको सम्बन्धद्वारा निर्देशित मित्रता रहेको पनि जनाएका छन् ।

मोदीले प्रधानमन्त्री देउवाको पछिल्लो भारत भ्रमणले दुई देशबीच सम्बन्ध थप मजबुत भएको तथा बहुआयामिक द्विपक्षीय साझेदारी थप मजबुत पारेको उल्लेख गरेका छन् ।

‘निकटको छिमेकी र मित्रका रूपमा भारत नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र विकास प्राप्तिको राष्ट्रिय प्रयासमा सहयोग गर्न दृढ रहेको म उल्लेख गर्न चाहन्छु,’ मोदीको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय राष्ट्रपति कोविन्दले सन्देशमा नेपाल–भारत सम्बन्ध पुरानो, अद्वितीय र बहुआयामिक रहेको भन्दै आपसी लाभका लागि नयाँ र विविध क्षेत्रमा द्विपक्षीय साझेदारी वृद्धि भएको पनि उल्लेख गरेका छन् । ‘भारत नेपाली जनता र नेपाल सरकारसँग मिलेर दुई देशका जनताको हित प्रवद्र्धन तथा मित्रवत् र निकट सम्बन्ध अभिवृद्धिका लागि काम गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति कोविन्दले भनेका छन् ।

प्रतिकृया दिनुहोस