गड्डाचौकी भन्सार कार्यालयमा एक्सरे मेसिन जडान

Kanchanpur bhansar n

कञ्चनपुर । सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ ।

व्यापारिक नाका सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्रुको सहजताका लागि एक्सरे मेसिन सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।

“मजदुरी गरेर घर फर्किंदा यात्रुलाई दुई दुई ठाउँमा झोला खोलेर देखाउने झन्झटबाट मेसिन जडानले मुक्ति दिएको छ,” कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विकास कुमारले भने ।

गड्डाचौकी भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, सिमला, देहरादुन, हरिद्वार, बैंग्लोरलगायतका ठाउँमा जाने गरेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक एक्सरे मेसिन सञ्चालनमा ल्याइएको भन्सार अधिकृत विकास कुमारले जानकारी दिए ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा एक करोडको लागतमा उक्त एक्सरे मेसिन जडान गरिएको बताइएको छ । दुई वर्षअघि गड्डाचौकी भन्सारमा आठवटा सिसिटिभी क्यामेरासमेत जडान गरिएका थिए । अहिले थप पाँचवटा क्यामेरा थपिएका छन् ।

कञ्चनपुर भन्सारले वार्षिक चार करोड राजश्व संकलनको लक्ष्य लिँदै आएको थियो । क्रमश : राजश्व संकलन लक्ष्य दु्रत गतिमा बढेको छ । गड्डाचौकीपारि भारततर्फ प्रहरी, भन्सार र भारतीय सीमा सुरक्षा बल एसएसबीले छुट्टाछुट्टै जाँच गर्दा सीमामा यात्रुले ठाउँ ठाउँमा झोला खोल्नुपर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस