माओवादी केन्द्रसँग पार्टी एकता सम्भव छैन : वैद्य

Mohan baidya cpn maoist

चितवन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताए ।

उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए ।

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उनले बाटो बिराएको वैद्यको भनाइ छ ।

बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उनले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताए ।

उनले भने ‘माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो ।’ प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उनले भने ंकाँग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र ।

कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उनले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने उनले बताए ।

जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको उनले बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उनले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए ।

आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने बताए ।

अर्को एक प्रश्नमा उनले अबको संघ र प्रदेशको निर्वाचनमा जाने नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने बताए ।

वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने भन्दै उनले राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न नसकिने बताए ।

प्रतिकृया दिनुहोस