राजनीतिक खिचातानी १२ दिनदेखि क्याम्पस बन्द

Dhurgalaxmi 541x350

कैलाली। राजनीतिक खिचातानीका कारण १२ दिनदेखि बन्द रहेको कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सञ्चालन गर्न पहल नहुँदा विद्यार्थीहरु प्रभावित भएका छन् ।

क्याम्पस सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले तत्कालिन क्याम्पस प्रमुख गिरीराज कडायतलाई हटाएर डम्बरबहादुर पाललाई क्याम्पस प्रमुखमा नियुक्त गरेपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठलले क्याम्पसमा तालाबन्दी गरेको थियो ।

नवनियुक्त क्याम्पस प्रमुख पालले क्याम्पस सञ्चालक समितिको बैठकले आफुलाई प्रमुखमा नियुक्त गरेको बताउँदै विद्यार्थीहरुले ‘माथिको निर्देशनमा’ क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाए ।

क्याम्पस संचालक समितिका अध्यक्ष विरेन्द्र भट्टले १३ सदस्यीय कार्य समितिमा ९ जनाको उपस्थितिमा क्याम्पस प्रमुखमा पाललाई नियुक्त गरिएको बताए ।

विद्यार्थीहरुले तालाबन्दी गरेपछि अहिलेसम्म खुलाउने प्रयास नहुँदा पठनपाठन प्रभावित हुँदै आएको छ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ का ईन्चार्ज लेखराज भट्टले क्याम्पसमा भएको तालाबन्दीबारे छलफल गरी निकासाको पहल गरिने बताए ।

प्रतिकृया दिनुहोस