४ दिनमा ३ महिलाको हत्या

Kill murder

पोखारा । पछिल्लो समयमा हत्याका घटनाहरु दिन दिनै बढ्दै गएको छ । गत चार दिनमा यता ३ महिलाको हत्या भएको छ । पछिल्लो पटक हत्याको खवर आएको पाँचथरबाट, जहाँ श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् ।

बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् ।

घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद भएर हत्या भएको भनिएपनि कारण भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

यस अघि पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको हत्या भएको समाचार आएको थियो । यो घटना असार २६ गतको थियो । रुकुम र वाँकेमा त्यसदिन दुई महिलाको हत्या भएको थियो ।

दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको रुकुममा हत्या भयो । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको थियो ।

हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन् । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिएका थिए ।

अर्को घटना थियो , बाँकेको, जहाँ श्रीमानद्वारा श्रीमतीको गला रेटी हत्या भयो । एक श्रीमानले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरे ।
कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमवार राती करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा गएका थिए । घटनास्थल पुग्दा मृतकको शरीर र पाँच÷छ महिनाकी छोरी भेटिइन् । छोरीको प्रहरीले तत्कालै उद्धार गर्यो ।

श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ । निजकी कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयबासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस