म्यादी प्रहरीमा असफल भए पनि उपप्रमुखमा सफल भइन् तुल्सी सुनार

Tulsi sunar

प्युठान । स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन् । स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उनी उत्तिर्ण भइन् ।

धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उनमा धेरै आत्मबल बढेको थियो । तर, विडम्बना अन्तर्वार्तापछि उनी अन्तिम छनोटमा परिनन् । आफू मात्र नभई सँगै आएका तीनजना साथीसमेत छनोट हुन सकेनन् । उनीहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउँछिन् । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन् ।

घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू/ससुरा रहेको उनले बताइन् । ३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो ।

कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताब उनले सहजै स्वीकारिन् । टिकट पाएपछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भइन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भइन् ।

एमालेबाट उम्मेदवार बनेकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उनी विजयी भइन् । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाइन् ।
म्यादी प्रहरीमा छनोट हुन नसके पनि आफूलाई कुनै पछुतो नभएको सुनारले बताइन् । ५ वर्षका लागि गाउँपालिका उपप्रमुखमा विजयी भएपछि उनले आफूलाई भाग्यमानी ठानेकी छन् । ‘जनताले भोट हालेर मलाई विजयी गराउनुभयो’, सुनारले भनिन्, ‘५ वर्षसम्म जनताको सेवामा लाग्नेछु ।’

जिल्लाकै दुर्गम गाउँ समेटेर बनेको उक्त गाउँपालिकावासीको जीवनशैली परिवर्तनमा आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ । ‘विकास निर्माणका पूर्वाधारले यस गाउँपालिका धेरै पछाडि परेको छ’, उनले भनिन्, ‘सबैको साथ र सहयोगले सुगम गाउँपालिका बनाउनेछौं ।’


गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भए पनि कांग्रेसले सफलता हासिल गरेको हो । कम्युनिस्टको बोलियो आधार क्षेत्र भनेर चिनिने उक्त गाउँपालिकामा यसपालिको निर्वाचनमा कांग्रेसले सफलता हाता पारेको छ । गाउँपालिकाको प्रमुखमा कांग्रेसकै नेता विष्णुकुमार गिरी विजयी भएका छन् । ७ वडामध्ये ४ वटामा कांग्रेसले जित हासिल गरेको छ ।
साभार : अन्नपूर्ण पोष्ट

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...