अस्ताए गान्धीवादी र समाजवादी कांग्रेस नेता

Ramhari josji

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जली दिन पार्टी कार्यालय सानेपामा राखिएको छ ।

जोशीको पार्थिव शरीरलाई आज ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

स्वर्गीय जोशीको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले विज्ञप्तीमा नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व मन्त्री रामहरि जोशीको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

सो विज्ञप्तीमा ‘स्व. जोशीले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । लामो त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु’ भनिएको छ ।

दम र निमोनियाबाट पीडित जोशीको विहीबार साँझ ७ः३० मा राजधानीको ग्राण्डी अस्पतालमा निधन भएको थियो । घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई २१ असारमा भर्ना गरिएको थियो । उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।

विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए । उनी नेपाली कांग्रेसमा सबैभन्दा पाका नेता थिए । उनलाई २००७ सालमा भएको जनक्रान्तिका एक मात्र साक्षीका रुपमा लिइने गरिन्थ्यो ।

शब्दचित्रमा जोशी
अविवाहित जोशी आजीवन पार्टी र प्रजातन्त्रका लागि लड्दा ९ वर्ष जेल परेका थिए । उनी ०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा शिक्षा, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका थिए ।

२०४८ सालमा सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने ०५१ र ०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार थिए ।

स्व.जोशी नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको पूर्व सम्पादकसमेत थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...