पक्की घरको आसमा बिचल्ली पर्साका गरिब र दलित

बालबच्चालाई अरूको गोठमा त्रिपाल टाँगेर राख्नुपरेको गुनासो

Bijok

विराटनगर । पक्की घरको आसमा आफ्नो भएको छाप्रो समेत भत्काएका पर्साका गरिब र दलित समुदायका मानिस विचल्लीमा परेका छन् । सरकारले पक्की घर बनाइदिने भनेपछि भएको घर भत्काइयो तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैन ।

त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भनिन् , ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ ।’ सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरिब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन् ।

जनता आवास कार्यक्रममार्फत सुरक्षित घरको आश्वासन पाएका उनीहरूले घर भत्काएको महिनौं बितिसक्दा पनि नयाँ घर बनाउन सकेका छैनन् । घर नबन्दा वर्षा र झरीको बेला कष्टकर जीवन बिताउन बाध्य छन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत चालु आवमा पर्साका दलित, गरिब, विपन्न समुदायका लागि हजार वटा घर बनाउने योजना सार्वजनिक गरेको थियो ।

पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा दुई, दुई सय गरी कुल १ हजार सुरक्षित घर बनाउने योजना छ । सहरी विकास मन्त्रालयले एउटा घरको लागत २ लाख १४ हजार ७ सय रुपैयाँ राखेको छ ।

घर निर्माणका लागि मन्त्रालयले जिल्लास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत घरधनीलाई ४ किस्तामा रकम उपलब्ध गराउने प्रावधान छ ।

तर, सम्बन्धित घरधनीले अहिलेसम्म आवास निर्माणका लागि पहिलो किस्ता बापतको रकमसमेत पाएका छैनन् । पक्की घर बन्ने आश्वासन पाएपछि दलित, गरिब र विपन्न समुदायले वैशाखमै फुसको घर भत्काएर जगसमेत खनिसकेका छन् ।

तर, जग खनेलगत्तै पहिलो किस्ता पाउने आशामा रहेका अधिकांश गरिब, अति विपन्नले घर भत्काएको ३ महिना बित्दा पनि रकम पाएका छैनन् । चालु आर्थिक वर्षको भदौमा बजेट आए पनि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगन्जले आवास कार्यक्रमको प्रक्रिया असार पहिलो सातादेखि सुरु गरेको छ ।

जिल्लामा निर्माण गर्नुपर्ने आवासका लागि घरधनी छनोटमा जिल्लाका सांसद र राजनीतिक दलले हस्तक्षेप गरेपछि समयमै प्रक्रिया सुरु गर्न नसकिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगन्जका प्रमुख सरोजकुमार गोइतले बताए ।

माननिय नेताहरुले आफ्नो स्वार्थसिद्ध गर्न अनावश्यक बखेडा झिकेर पटकपटक विवाद गरे । उनले भने ‘बजेट भदौमै आए पनि मन्त्रालयबाट कार्यविधि मंसिर(पुसतिर मात्रै आयो, त्यसैले प्रक्रिया अगाडि बढाउन ढिला भएको हो ।’

पहिलो किस्ताको रकम ‘दुई तीन दिनभित्रै घरधनीको हातमा पुग्ने गोइतले बताए । ‘निर्माण समितिका संयोजक र इन्जिनियरको संयुक्त नाममा रहेको खातामा पहिलो किस्ताको रकम निकासा भइसकेको छ’, उनले भने, ‘दुई तीन दिनमै त्यो रकम घरधनीको हातमा पुग्छ ।’

जग खनिसकेका ५ सय घरका लागि पहिलो किस्ताको रकम खातामा निकासा भइसकेको र बाँकी ५ सय घरका लागि सम्झौता भइसकेको जनाउँदै गोइतले सम्झौता भइसकेकाले कार्यक्रमका लागि चालु आर्थिक वर्षमा आएको बजेट फ्रिज नहुने दाबी गरे ।

‘इन्जिनियर साबले पुरानो घर भत्काएर जग नखनेसम्म पैसा पाइँदैन भनेपछि हतार, हतार फुसको घर भत्कायौं । जग खनेको पनि तीन महिना भइसक्यो, अहिलेसम्म एक सुको पाएका छैनौं’, रामगढवाकै रम्भु बैठाले भने, अब यो झरी र वर्षाका बेला बालबच्चा र परिवारको बिचल्ली भएको छ । छिमेकीको घरमा शरण लिएर बस्नुपरेको छ । छिमेकीले पनि बास दिन अप्ठ्यारो मान्छन् । पानी परेका बेला छाता ओढेर रात बिताउनुपर्छ ।’

पक्की घर बन्ने आशामा पुरानो वासस्थान तोडेर निर्माण सुरु गरेकाले अहिले छिमेकीको गोठमा बास बस्न बाध्य भएको बिरुवागुठीका मंगल महराले बताए । ‘पक्की घर बन्छ भनेर भएको झुपडी पनि भत्कायौं, उनले भने, ‘वर्षाले अन्नपात, लत्ताकपडा सबै भिजेका छन् । बालबच्चालाई अरूको गोठमा त्रिपाल टाँगेर राख्नुपरेको छ ।’

प्रतिकृया दिनुहोस