पहिरोले पासाङलामु राजमार्ग बन्द

केरुङबाट फर्किदै गरे सयौँ कन्ट्रेनर अलपत्र

Mulkharka sadak

काठमाडौं । लगातारको झरीले पासाङलामु राजमार्गमा पहिरो जान थालेपछि सोमबार विहानदेखि यातयात बन्द भएको छ । पहिरोले बाटो बन्द हुँदा केरुङ नाका आवातजावत पनि बन्द भएको छ ।

सो राजमार्ग अन्तर्गत मूलखर्क सडक खण्डमा पहिरो गएपछि सो राजमार्गमा यातयात सञ्चालन बन्द भएको छ । पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको छ ।

सडक बन्द हुँदा सयौं सवारीसाधन र चीनको केरुङबाट सामान ढुवानी गर्ने सयौँ कन्ट्रेनर अलपत्र परेका छन् । पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको र सडक खुलाउन विष्फोट गराउन पर्ने भएकाले डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको प्रहरीले बताएको छ ।

पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास भइरहेको रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काले बताए ।

यता, अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।

पहिरो गएका कारण रातिदेखि गुल्मीको मुसिकोटदेखि तम्घास सडकखण्डसमेत अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण वर्षाले गुल्मी जिल्लाका तीन दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् ।

पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसलाई पैदल हिँड्न पनि समस्या भएको छ । सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भिर र चिउरेनी भिरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस