स्थानीय तहको पहिलो बजेट आज आउँदै

Local ministry

काठमाडौं । सबै स्थानीय निकायमा जनप्रतिनिधि आइसकेका छैनन् । तर, आज व्यवस्थापिका संसद्कै शैलीमा देशभरका स्थानीय निकायका एकैसाथ बजेट सार्वजनिक हुने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार आज स्थानीय निकायहरुले पहिलो बजेट ल्याउन लागेका हुन । जसलाई स्थानीय स्थानीय व्यवस्थापिकाले पास गर्नुपर्ने हुन्छ ।

पहिलोपटक गठन भएको स्थानीय निकायले कस्तो खालको बजेट ल्याउँला भन्ने चासो पनि बढेको छ । धेरैले पहिलो चरणमा गठन भएका स्थानीय निकायले बजेट ल्याउन छलफल चलाएको भए पनि १४ असारमा निर्वाचन भएर भर्खर नतिजा आउन थालेका स्थानीय निकायलाई भने समस्या पर्ने भएको छ ।

संविधानअनुसार प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुनबमोजिम गाउँ सभा वा नगर सभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था छ । स्थानीय तहले पारित गरेपछि स्थानीय तहले बजेट खर्च गर्न पाउने छन् ।

कोको रहन्छन् स्थानीय व्यवस्थापिकामा ?
व्यवस्थापिका संसद्मा सभामुख, उपसभामुख र सांसद्हरु रहन्छन् । त्यसैगरी स्थानीय निकायमा पनि स्थानीय व्यवस्थापिका गठन गर्ने कार्यविधि बनाइएको छ ।

स्थानीय व्यवस्थापिकामा (गाउँ सभारनगर सभा) मा मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्यहरू रहनेछन् । सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।

स्थानीय व्यवस्थापिका सभामा अध्यक्ष वा अध्यक्षले तोकेको उपाध्यक्ष वा सदस्यले स्थानीय व्यवस्थापिकामा बजेट पेस गर्नेछन् । अध्यक्षले बजेट पेस गरे उपाध्यक्षले व्यवस्थापिकाको अध्यक्षता गर्नेछन् । अध्यक्षले बजेट पेस नगर्ने भए उनैले व्यवस्थापिकाको अध्यक्षता गर्नेछन् । उक्त सभामा पेस भएको बजेट पास भएपछि खर्च गर्ने बाटो स्थानीय तहलाई खुला हुनेछ ।

प्रतिकृया दिनुहोस