बेनी–जोमसोम सडकमा सवारी सञ्चालन अवरुद्ध

Beni jomsom

पोखरा । मुस्ताङ्गलाई जोड्ने बेनी–जोमसोम सडकमा सवारी सञ्चालन अवरुद्ध भएको छ ।

बेनीदेखि २० किमी उत्तर अन्नपूर्ण गाउँपालिका–६ को भीरकाटे–पोखरे खण्डमा पर्ने टिम्मुरे भीरमा कालीगण्डकी नदीले करिब ५० मिटर सडक बगाएको छ । सो खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।

कालीगण्डकी नदीको बहाव तीव्र र ठूलो भएको छ । नदीले सडक कटान गर्न थालेपछि सो सडकखण्ड अवरुद्ध भएको हो । हिमालपारीको जिल्लालाई जोड्ने एक मात्र सो सडक अवरुद्ध हुँदा पर्यटन व्यवसायसमेत ठप्प हुने भएको छ ।

वैकल्पिक सडक नभएकोले तत्कालका लागि मुस्ताङ र म्याग्दीका उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकामा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री ढुवानी पनि रोकिएको स्थानीयबासीले बताएका छन् ।

सडक विभागका अनुसार कालीगण्डकी नदी उर्लिदै आइरहेकाले सो सडकमा डोजर लगेर काम गर्न पनि समस्या छ । विभागले कम्तीमा भदौसम्म सडक खुल्ने सम्भावना नरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस