प्रचारप्रसारको अभावमा पर्यटकीय क्षेत्र ‘रामघाट’ ओझेलमा  

Palpa

पाल्पा । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदी किनारमा अवस्थित रामघाट क्षेत्रको प्रशस्त पर्यटकीय सम्भावना रहँदा पनि प्रचारप्रसारको अभावमा यसको महत्व गुम्दै गएको हो ।
पौराणिक कथासँग जोडिएको रामघाट क्षेत्रको विकास नहुँदा ओझेलमा परेको छ ।

पौराणिककालमा भगवान् रामले वनवास जाँदा बास बसेर दिनहुँ नुहाएर पूजाआज गरेकाले यसको नाम ‘रामघाट’ रहन गएको बताइन्छ । यहाँ ऋषिमुनिले यज्ञ गरेको धार्मिक किंवदन्ती छ ।

विसं १८७० मा सोही स्थानमा बसोबास गर्नुभएका स्थानीयवासी तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा लक्ष्मीनारायण मन्दिरको स्थापना गरिएको सो क्षेत्रका बासिन्दा बताउँछन् । मन्दिर स्थापनापछि रेग्मी परिवारको रेखदेखमा नियमित रुपमा यहाँ पूजाआजा गरिँदै आएको छ ।

भगवान् रामको वनवास जाँदाको कथासँग गाँसिएकाले यस क्षेत्रमा टाढाटाढाबाट दर्शन गर्न तथा अवलोकनका लागि आउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटक आउने गरेका भएपनि पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको स्थानीयवासी ओमप्रकाश रेग्मी बताए ।

रामघाट क्षेत्रको महत्व र विकासलाई अगाडि बढाउन यहाँका स्थानीयवासीको सक्रियतामा लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार, धर्मशाला, पुजारी कोठा, मन्दिर प्रवेशद्वार, खानेपानी ट्याङ्की, सत्तल पुनःनिर्माण, चौतारी, पर्खालनिर्माणदगायत कार्य सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।

रामघाट क्षेत्रसम्म पुग्न बाटोघाटोको समस्याका कारण यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व ओझेलमा पर्दै गएको रेग्मी बताए । मन्दिरको स्वामित्वमा दर्ता भएको एक हजार १०० रोपनी जग्गा तथा दर्ता नभएको करिब एक हजार रोपनी जग्गाका मोहीले आम्दानीको तिरो नबुझाएका कारण यसको पर्यटकीय विकासको गतिमा बाधा पुगेको अध्यक्ष रेग्मीले बताए ।

भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढे पनि पर्यटकीय आकर्षणको महत्व बढ्न सकेको छैन । पर्यटकको आकर्षण बढाउन यहाँ ८० जातका आँप, लिची, कटहर र एक सयवटा टिप्स जातका बिरुवा रोपिएको छ । रामघाटको विकासका लागि रामपुर नगरपालिकाले समेत सम्भावित १० वटा पर्यटकीय क्षेत्रका रुपमा समेटेको छ ।

नगरपालिकाले गत आवमा खानेपानी व्यवस्थापनका लागि १ लाख ५० हजार, अर्थमन्त्रालयबाट पर्यटनसम्बन्धी पुजारी आवासगृह निर्माणका लागि २ लाख, विभिन्न व्यक्ति, समूहबाट करिब १ लाख ५० हजार सहयोग प्राप्त भएको छ । उक्त क्षेत्रको विकासका लागि करिब ३०० स्थानीयवासीले श्रमदान तथा नेपाल प्रहरी र नेपाली सेनाले समेत सहयोग गर्दै आएको छ ।

रामपुरको बेझाडबजारबाट रामघाट क्षेत्रसम्म पुग्न मोटरबाटोको स्तरोन्नति गरी अबको १० वर्षभित्रमा ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना, किरियाघर निर्माण, १ हजार ८ शालिग्राम जडित पानीको फोहोरासहितको शान्तिवाटिका निर्माण गरेर दैनिक २०० भन्दा बढीको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको मन्दिर व्यवस्थापन समितिको अध्यक्ष रेग्मी बताए ।

रामघाट क्षेत्रमा रामगुफासहित सातवटा गुफा छन् । करिब १सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रको आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रशस्त सम्भावना रहेको छ । भौतिक पूर्वाधारको विकास तथा सडक स्तरोन्नति गर्न सकेमा रामघाट भविष्यमा पर्यटकीय गन्तव्यको आकर्षणस्थल बन्नेछ ।

प्रतिकृया दिनुहोस