अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

९ वर्षमा तोडियो राई र यादवको राजनीतिक सम्बन्ध

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।

नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष रार्ईले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सात सांसदसहित ३० जना केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाएका छन् । राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ । सहअध्यक्ष रेणुकुमारी यादव बनेकी छन् ।

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ । मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन् । डा. वीरेन्द्र महतो कोषाध्यक्ष बनाइएका छन् ।

राई नेतृत्वको समूहले अहिलेकै सरकारलाई निरन्तरता दिने भएको छ । जनता समाजवादी पार्टी दर्ताका लागि पुगेका सांसद र नेताहरूले अहिलेको एमाले र माओवादी नेतृत्वको गठबन्धनमै बस्ने बताएका हुन् । जसपा नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता राजेन्द्र श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ऐतिहासिक भन्दै आफूहरू यसमै रहने बताएका छन् ।

२०७२ जेठ ३२ गते यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच पार्टी एकता भएको थियो । यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चर्किदा जसपा नेपाल दोस्रो पटक फुटेको हो ।

यसअघि जसपा नेपाल २०७८ भदौ २ गतेमा फुटेको थियो । यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर अर्का पक्ष महन्थ ठाकुरले लोकतान्त्रिक पार्टी (लोसपा) गठन गरेका थिए । मधेशी दलहरुलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले फुटाउन लागेको भन्दै २०७७ बैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुरसहितका राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकता भएको थियो । त्यसपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो ।

कार्यकर्ता व्यवस्थापनमा पार्टी अध्यक्ष यादव र अर्का वरिष्ठ नेता ठाकुरबीच विवाद चर्किएको थियो । त्यो विवादले जसपा नेपाल पहिलो पटक फुटेको थियो। ठाकुरले छोडेको तीन वर्ष नबित्दै राई पनि त्यही बाटो रोजेका छन् ।

राष्ट्रिय महाधिवेशन नजिक आइरहेको समयमा जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । जेठ २७, २८ र २९ गते पार्टीको महाधिवेशन तोकिएको थियो ।

 

प्रतिकृया दिनुहोस