इलामबाट प्रतिनिधिसभामा सुहाङ नेम्वाङको सानदार ‘इन्ट्री’

Suhang nembang

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

वैशाख १५ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार सुहाङ चुनाव जित्न सफल भए । संसदीय राजनीतिको ‘डेब्यु’मा उनले एमालेलाई विजयी गराएर सिंहदरबारमा सानदार ‘इन्ट्रि’ गरेका छन् ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन । तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्ति उत्साहित छ ।

सुहाङको पक्षमा माहोल बनाउन एमालेका स्थायी कमिटी सदस्यहरु शिवमाया तुम्बाहाङ्फे दुई महिनादेखि निर्वाचन क्षेत्रमै खटिएकी थिइन् । मिहेनत गरे अनुसारको नतिजा आफ्नो पक्षमा पारेर एमालेले सुवास नेम्वाङको विरासत कायम राखेको छ । एमालेले २०५६ देखि निरन्तर जितेको सो क्षेत्रको कमाण्ड अब ३५ वर्षे सुहाङको काँधमा आएको छ ।

प्रतिकृया दिनुहोस