बझाङमा एमालेका भण्डारी विजयी हुँदा एमालेलाई फलिफाप, को हुन् भण्डारी ?

Daman vandari bajhang

बझाङ । बझाङ १ को प्रदेश सभा (१) मा भएको उपचिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् ।

२०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन् ।

विजयी भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएर नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन् । सिंहले ११ हजार ३ सय ४६ मत पाएको निर्वाचन आयोगले जनाएको छ । भण्डारीले २ सय ६७ मतले सिंहलाई पराजित गरेका हुन् । मत गणना सुरु भएदेखि नै यी दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत पाउँदा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए ।

२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ ।

उपनिर्वाचनको मुखमा बुबा गमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी ०६२ सालमा राष्ट्रिय युवा संघ नेपाल अञ्चल कमिटी सचिव बनेका थिए । २०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल बझाङ एमाले अध्यक्ष समेत रहेका छन् ।

प्रतिकृया दिनुहोस