इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भएको छ । जसमा इलाममा ५८ र बभाङमा ५० प्रतिशत मात्रै मतदान भएको छ ।

दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ । उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा आजै ११ बजेभित्र मतपेटिका संकलन हुने निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । यहाँ एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् ।

बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानी भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगको भनाइ छ । मतगणना सुरु भएको १२ घन्टाभित्र अन्तिम मतपरिणाम निकाल्नेगरी काम गर्न निर्देशन गरिएको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस