ओली भन्छन्, अहिलेको सत्ता समीकरण बनाउन ‘प्रचण्ड’को साहसिक निर्णय थियो

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन

Oli jhapa

झापा । कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति निक्कै गरम कुरा गर्ने पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजभोली प्रचण्डको निक्कै प्रशंसा गर्न थालेका छन् ।

झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक निर्णय लिएको बताए । उनले प्रचण्डको निर्णय सही समयमा सही रहेको दावी गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहसिक निर्णय गरेर नयाँ समीकरणमा आएको र यो देशहीनमा रहेको उनले दाबी गरे । ‘महत्त्वपूर्ण मन्त्रालय एमालेले पाएन भनेर कसैले चित्त दुखाउनु पर्दैन, यो सरकार नै हाम्रो हो’, उनले भने । प्रधानमन्त्री नै हाम्रो भएकाले कुन मन्त्रालय पाइयो पाइएन भन्नुको अर्थ नरहने उनको भनाइ छ ।

सोमबार नेकपा एकीकृत समाजवादीप्रति आक्रोसित बनेका ओली मंगलबारभने निक्कै नरम थिए । उनले गृहजिल्लाको कार्यक्रममा समाजवादीप्रति कुनै नकारात्मक टिप्पणी गरेनन्, बरु सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताए । अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरूको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको बताए ।

‘हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौँ’, अध्यक्ष ओलीले भने, ‘नयाँ समीकरण बनाउनै पथ्र्यो, बनायौँ । धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो । अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो ।’

एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको जनाउँदै उनले देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको धारणासमेत व्यक्त गरे । उनले देशभक्तहरूको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरूले निरन्तर षड्यन्त्र गरिरहेको दावी गरे । लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस