क्रिकेटमा नेपालको अर्काे फड्को, एक खेल अगावै सिरिज नेपालको पक्षमा

Nepal vs canada wicket

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा लगातार दोस्रो जित निकाल्दै घरेलु टोली नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा नेपालले क्यानडामाथि ४ विकेटको सहज जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९र९ रन जोडे ।

क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे । तर १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो ।

त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव बनाएका थिए । ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे । स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् ।

पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०/४ थियो । तर सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे ।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए । सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।

प्रतिकृया दिनुहोस