राष्ट्रियसभा निर्वाचन : कोशीमा सिटौलाले जित, भोट क्रम हुँदा गठबन्धनका अर्का उम्मेदवार पराजित

गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित

Krishna sitaula

विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा प्रतिष्ठाको रुपमा लिइएको कोशी प्रदेशमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । तर सत्ता गठबन्धनकै अर्का उमेदवार भने पराजित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख दुवैथरिले मतदान गरेका थिए । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।

प्रतिकृया दिनुहोस