रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित

Resham chaudhary naupa

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा चौधरी एक्लैको उम्मेदवारी परेको थियो ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् । पूर्वसांसद रेशम गत जेठमा रिहा भएपछि पार्टी संगठनमा सक्रिय भएका थिए ।

कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टी अध्यक्षमा यसअघि उनकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहेकी थिइन् । महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् ।

पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ । नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित दुई सय ५४ जना चयन गरिनेछ ।

प्रतिकृया दिनुहोस