राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत, २,०४७ जना मतदाता

Nirbachan aayog

 

 

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेशसभा सदस्य ५४९ जना कायम गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ जना मतदाता रहने छन् । प्रवक्ता पौडेलले स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी जना आठ जनाको नाम हटाइ कूल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस