घरेलु मैदानमा नेपालको लज्जास्पद हार, नेपाल समूह एचमा अंकविहीन

Nepal yeman khel

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल पराजित भएको छ । योसँगै नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।

विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ भने बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छानिनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।

दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ । यस समूहमा युएई र बहराइन बलियो टोली भएकाले नेपालसामु घरेलु मैदानमा यमनलाई हराएर अंक जोड्ने अवसर थियो । विशेषगरी फिनिसिङमा नेपालले राम्रो गर्न सकेन ।

प्रतिकृया दिनुहोस