महिला टी–२० सिरिजमा नेपाललाई पहिलो सफलता : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

Nepal japan

काठमाडौं । नेपालको घातक बलिङमा हङकङमा जारी चार देश सम्मिलित महिला टी(२० आई सिरिजमा पहिलो जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो । जापानकी मेगा ओगावाले १७ तथा सेरिका सुमीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, काजल श्रेष्ठले १५ तथा पूजा महतोले १३ रन जोडे । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो ।

सिरिजअन्तर्गत समान दुई खेल हारेका दुवै टोली उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । तान्जानिया र हङकङले भने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन् ।

प्रतिकृया दिनुहोस