कोशीमा मन्त्रिपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट १/१ मन्त्रीको शपथ

एमाले भन्छ, कोशीमा समाप्त भएको कोर्स फेरि ब्युुँतियो

Koshi pradesh mantri niyukta

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र नेकपा एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

यसअघि कार्कीले एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् । तर संकटमा आफूलाई साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीले बताउँदै आएका छन् ।

यता नेकपा एमालेले कोशी प्रदेशमा समाप्त भइसकेको कोर्स पुनः ब्युँतिएको बताएको छ । नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ सरकार गठनसँगै ट्र्याकमा आएको राजनीत पुनः गिजोलिएको बताएका हुन् ।

‘मुख्यमन्त्रीज्युले हामीले राखेको अडान विपरित नयाँ निर्णय गर्नुभएको सुनेका छौं,’ उनले भने, ‘यसबारे विस्तृत बुझ्छौं । र सोमबार साढे १० बजे बैठक बसेर निर्णय लिन्छौं ।’

प्रतिकृया दिनुहोस