४७ जना सांसदले सनाखत गरेसँगै कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Kedar karki

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता केदार कार्की नियुक्त भएका छन् ।

सत्तारुढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसको डा. शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गरे । उनी शेखर समूहकै हुन् ।

नेता कार्की मुख्यमन्त्री बनेपछि गठबन्धनका शीर्ष नेताले उनलाई नै स्वीकार गरेका छन् । शनिबार बिहान ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई हस्ताक्षरमा सनाखत गराएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता आङ्बोले पनि कांग्रेसका ८ जनासहित ४७ सांसदकै हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङलाई निर्णय गर्न गाह्रो भएको थियो । त्यसपछि उनले आज दुवै पक्षलाई प्रदेश प्रमुख कार्यालयमा आई हस्ताक्षरमा सनाखत गर्न भनेका थिए । त्यस क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगी हस्ताक्षरमा सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

आङ्बो पक्ष भने आफूतिर पनि हस्ताक्षर गरेका कांग्रेसका ८ सांसद कार्कीकै पक्षमा सनाखत गर्न गएपछि अल्पमतमा पर्‍यो । जसका कारण आङ्बो पक्षका सांसद सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय नै गएनन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि कार्कीले पार्टीभित्र मुख्यमन्त्रीको उम्मेदवार आफू हुनुपर्ने बताएका थिए । गठबन्धनले उम्मेदवार नबनाए जसरी भएपनि मुख्यमन्त्री बन्ने चेतावनी दिएका थिए । मुख्यमन्त्री बन्न कोइरालाको साथ पाएपछि पार्टीभित्र विद्रोह गरेका कार्की नेविसंघको राजनीतिमा पनि विद्रोही नेताको रुपमा चिनिन्थे ।

मोरङ क्षेत्र नम्बर ६ (ख) बाट दोस्रो पटक निर्वाचित भएका कार्की प्रदेशसभाको पहिलो कार्यकालमा दलको प्रमुख सचेतक र आन्तरिक मामिला तथा कानुन मन्त्री बने । गत मंसिरको प्रदेशसभा निर्वाचनमा उनले आफू मुख्यमन्त्री बन्ने भन्दै चुनावी अभियान सञ्चालन गरेका थिए । उनी एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई पराजित गर्दै प्रदेशसभा सदस्य चुनिएका थिए ।

२०३० पुस ७ मा जन्मेका कार्कीले विद्यार्थी राजनीतिक सुरुवात नेपाल विद्यार्थी संघबाट गरे । २०४४ सालमा उनी जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति बने । उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका उनी नेविसंघको क्षेत्रीय सभापति हुँदै २०५९ सालमा मोरङ जिल्ला सभापति बने ।

२०६० सालमा उनी नेपाल विद्यार्थी संघबाट महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार बनेका थिए । तर अनेरास्ववियूका उम्मेदवार सागर थापासँग पराजित भए । तीन वर्षपछि २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको बने । स्नातकसम्मको शिक्षा हासिल गरेका कार्की कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस