कोशीका मुख्यमन्त्री कार्कीले मागे सबै दलसँग विश्वासको मत, राप्रपा अलमलमै

Hikmat karki

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् ।

स्थायित्व र सहकार्यका लागि मत दिन सबै दललाई पत्र लेखेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा नियुक्त भएका कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने कार्यक्रम छ । २२ भदौंमा नियुक्त भएका उनले विश्वासको मत लिनका लागि १७ असोजमा प्रदेश सभाको चौथो अधिवेशन आहृवान गरेका थिए ।

कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । राप्रपाले भने मतदान अघि निर्णय गर्ने बताएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन प्रारम्भ हुनेछ । उपधारा ५ अनुसार नेतृत्वका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रले दाबेदारी प्रस्तुत गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । प्रदेश सभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद छन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ ९पहिलो संशोधन सहित० को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दल समक्ष हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवंम सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता कार्की मुख्यमन्त्री बनेका हुन् । तर कार्कीले पनि विश्वासको मत पाउने सम्भावना कम छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । तर उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन । दनुवारले मत नहालेपछि एमालेका ३९ मात्रै सांसद कार्कीका पक्षमा देखिन्छन् ।

यदि विश्वासको मत पाउन नसकेमा कार्कीले पदबाट राजीनामा दिन सक्नेछन् । कार्कीले यसअघि विश्वासको मतका लागि एकीकृत समाजवादीसँग पनि संवाद गरेको थियो । तर बुधबार मात्रै समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन् ।

कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ बाट सरकार बनाउनुपर्ने हुन्छ। जहाँ प्रदेशसभाको जुनसुकै सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी गर्न सक्छन् । प्रदेशसभा सदस्यलाई दलीय ह्विप नलाग्ने हुँदा जुनसुकै दलले सरकार बनाउन सक्छन् ।

 

प्रतिकृया दिनुहोस