शुरु भयो ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’, प्रचण्डले गरे उद्घाटन

Prachanda janatasanga maoist

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका छन् ।

यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ ।

सो अवसरमा प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताए । प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताए । प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ ।’

सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अहिले जनतामा निराशा चरेर आशा र भरोभाको वातावरण बढेको दाबी गरे । जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको उनको भनाइ छ ।

उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको बताए । साथै प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरे ।

सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे । पार्टीको जीवनका लागि र देशको उज्वल भविष्यका लागि यो अभियान सुरु गरेको भन्दै उनले यसले जनसम्बन्ध बलियो बनाउने बताए ।

प्रतिकृया दिनुहोस