संसदमा प्रधानमन्त्री र सांसदहरुबीच सवालजवाफ, यस्तो छ प्रधानमन्त्रीले दिएको उत्तर (सम्बोधनको पूर्णपाठ)

Prachanda samsadma

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सांसदहरूको जिज्ञासाको आज जवाफ दिँदै प्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका नेताहरूलाई बचाउन नलागेको बताएका छन् ।

सांसदहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सुरुदेखि नै सामाजिक न्याय, सुशासन सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको पनि दाहालको भनाइ थियो । ‘सरकारका यी काम कुनै कुर्सी टिकाउनका लागि होइन । बरु देश र जनतामा राजनीतिक प्रणाली प्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ’, उनले भने, ‘भुटानी शरणार्थी प्रकरणलगायतका सबै घटनामा राज्यले दबाबरहित ढंगले निष्पक्ष छानबिन अघी बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो ।’

प्रधानमन्त्री दाहालले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताए । ‘सबै भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए । ुसबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि सरकार प्रतिबद्ध छ । भ्रष्टाचारको मामिलामा यो आफ्नो, यो पराइ भनेर सरकारले कसैलाई विभेद गरेको छैन र गर्ने पनि छैन । कानुनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसाथ गरेको छ र गरिरहने छ’ उनले भने ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने पनि आग्रह गरेका थिए । उनले राष्ट्रिय मुद्दामा विचार फरक भएका दलहरू भएपनि एकताबद्ध भएर जानुपर्ने धारणा राखेका थिए ।

 

प्रतिकृया दिनुहोस