कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए सपथ, बस्ने सीट नपाएको झोकमा निवर्तमान मुख्यमन्त्री कार्कीले गरे बहिष्कार

Koshi cabinet sapath

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।
आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाएका छन्‚ जसमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।

आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिए । माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय अपुग भएको भन्दै बिहान १० बजेकोका लागि तोकिएको मुख्यमन्त्री र मन्त्रीको शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको थियो ।

यता, निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् ।

‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ’ उनले भने, ‘म हिजोसम्मको मुख्यमन्त्री आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ, तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’

प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताए । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेको तर प्रदेश प्रमुख परशुराम खापुङले अस्वीकार गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...